धरान: पाँच दिनदेखि वेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ वीरगाउँका १७ बर्षीय सुजन नारायण चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ३ जना मध्ये २० बर्षीय सुमन झाले प्रारम्भिक सोधपुछको क्रममा सुजनको हत्या आफुले गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । झाले नै मृतक सुजनको शव अरुण वनस्पति उद्योगको कम्पाउण्ड उत्तरपट्टी खाली जग्गाको सिलाम झारको घारीमा फालेको वयानको आधारमा आज विहान फेला परेको थियो । मृतकको शव मुचुल्का गरेर पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अुनसार झासहित ३ जना पक्राउ परेपनि हत्या अन्य २ जनाको संलग्नता पुष्टि भइसकेको छैन । त्यसैले उनीहरु अनुसन्धान पश्चात छुट्न सक्ने प्रहरीले जनाएको छ । ‘झाले हत्या गरेको भन्ने प्रष्ट भइसकेको छ, अन्य २ जनाको बारेमा पनि थप अनुसन्धान भइरेको छ,’जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टराईले भने । उनका अनुसार झाले हत्या आफुले गरेको स्वीकार गरेपनि किन हत्या गरेको भन्ने प्रष्ट वयान दिइरहेको छैन । यद्यपी २ बर्ष अघिको रिसमा हत्या गरेको भन्ने केही वयान भने झाले दिएको प्रहरी निरीक्षक भट्टराईको भनाई छ । ‘सोधपुछ भइरहेको छ, कुरा क्लियर गरेको छैन । २ बर्षअघिको रिस थियो भन्ने केही कुरा खुलाएको अवस्था छ,’उनले भने ।
पाँच दिनअघि मंसिर १० गतेदेखि सुजन वेपत्ता भएका थिए । भोलीपल्ट उनका बुबाले छोरा हराएको निवेदन इलाका प्रहरी कार्यालय दुहबीमा दिएपछि प्रहरी खोजतलासमा जुटेको थियो । प्रहरीले स्थानीय २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्या गरेको स्वीकार गर्दै शव फालेको ठाउँ देखाएका थिए । मृतक किसोरको ट्याब, मोवाइल २ थान र एउटा सिम कार्ड पनि प्रहरीले वरामद गरेको जनाएको छ । घटनाबारे मृतकका फुपाजु कृष्णकुमार चौधरीले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।