धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत इन्टर्न डाक्टर र व्यवस्थापन पक्षबीच सहमति भएको छ ।
आज बिहान दुवै पक्षको वार्ता समितिबीच इन्टर्नका ११ बुँदे मागमा सहमति भएको हो । सहमति भएपश्चात इन्टर्नहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्किएका छन् । हिजोदेखि इर्मजेन्सीबाहेकका काम छोडेर इन्टर्नहरु आन्दोनलमा उत्रिएका थिए । उनीहरुले हिजो र आज बिहानपनि वार्ता भइरहदासमेत उपकुलपति कार्यालयअघि धर्ना दिएका थिए ।
इन्टर्नहरु आन्दोलनमा उत्रिएपछि हिजो नै प्रतिष्ठानले ३ सदस्यीय वार्ता कमिटि गठन गरेको थियो । लगत्तै इन्टर्न संघर्ष समितिले पनि वार्ता गर्न समिति चयन गरेपछि हिजो पनि वार्ता भएको थियो । तर, अन्य बुँदमा सहमति जुटेपनि जीवन निर्वाह भत्तामा सहमति नहुदा हिजो वार्ता निष्कर्षविहिन भएको थियो । इन्टर्नहरुले सरकारको ८ आंै तहको ५० प्रतिशत भत्ता पाउनुपर्ने माग गरेका थिए । जसअनुसार करिब २० हजार हराहारी भत्ता हुन्छ ।
आजको वार्तामा यही बिषयमा लामो छलफल भएपछि १८ हजार ५ सय रुपैया जीवन निर्वाह भत्तामा सहमति भएको छ । यो सहमति इन्टर्नसीप शुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक, कर्मचारीहरुको तलब वृद्धि हुँदा इन्टर्नहरुको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मुल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ । ‘जीवन निर्वाह भत्ताबारे पनि आज सहमति भएपछि हस्ताक्षर गरेर आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छौं,’संघर्ष समितिका संयोजक अमृत जैसीले भने ।