धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह कहिले होला भन्ने प्रश्न अब न सञ्चारकर्मीसँग रहनेछ, न उनका परिवार एवं आफन्तजनसँग । यही माघ ११ गते उनको विवाह हुने तय भइसकेको छ ।
हिजो सञ्चारमाध्यमबाट मुख्यमन्त्री राईको विवाह हुने खबर सार्वजनिक भयो । शेर्पा थरकी युवती भनिएपनि बेहुलीको नाम गोप्य रहेकोले मुख्यमन्त्रीले को सँग विवाह गर्न लागेको होला भन्ने चासो सबैलाई थियो । स्रोतका अनुसार मुख्यमन्त्री राईले विवाह गर्न लागेकी युवती सन् २०१८ की ‘मिस मंगोल नेपाल’ विजेता ज्याङ्मु शेर्पा हुन् । ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जिते पनि उनी चर्चामा आएकी थिइन् ।
शेर्पा र मुख्यमन्त्री राईबीचमा प्रेम विवाह हुन लागेको बताइएको छ । बेहुलीको पुख्यौली घर संखुवासभा हो । मुख्यमन्त्री राई भोजपुरका हुन् । दुवैको उमेरमा भने धेरै अन्तर भएको बताइन्छ । बेहुली हुन लागेकी शेर्पाको आमा बुबा अमेरिकामा बसोबास रहेको बताइएको छ । उनीहरुको घर काठमाण्डौंमा पनि छ । मुख्यमन्त्रीले माघ ११ गते सँस्कार अनुसार काठमाण्डौंमा बेहुलीलाई भित्र्याउनेछन् भने लगत्तै विराटनगरमा प्रितिभोज दिने तय भएको छ ।