धरान: विगत ६ दिनदेखि बन्द भएको धरान उपमहानगरपालिका वडा नं ५ को कार्यालय आजदेखि खुलेको छ ।

उपमहानगर कार्यालयले छैटौं तहको अधिकृतलाई वडा सचिवकोरुपमा पठाउने भएपछि आजदेखि वडा कार्यालय खुलेको हो । आज बिहान १० बजेदेखि नै कार्यालय सुचारु भइसकेको वडाका कर्मचारी राम पौडेलले जानकारी दिए । उनले भने,‘वडा कार्यालय आजदेखि सुचारु भइसकेको छ । कामहरु धमाधम हुन थालिसक्यो ।’

अधिकृतस्तरको वडासचिव नहुँदा योजनाहरुको सम्झौता हुन नसकेको, सम्पन्न भएका योजनाहरुको भुक्तानीमा ढिलाई भएको भन्दै वडाध्यक्ष सन्तोष लिम्बुले एक साताअघि कार्यालय बन्द गर्न निर्देशन दिएका थिए । उपमहानगरले वडा ५ को आर्थिक प्रशासनको जिम्मेवारी ६ नम्बर वडाका सचिवलाई नै दिएका थिए । जसले गर्दा आर्थिक प्रशासनको काम लिएर कि वडा नं ६ पुग्नुपर्ने कि उपमहानगरपालिका कार्यालय नै पुग्नुपर्ने समस्या भएपछि अध्यक्ष लिम्बु असन्तुष्ट थिए ।

मेयर तिलक राई, प्रमुख प्रशासकीय अधिकृत विदुर खनालसँग पटक पटक छलफल भएपछि छैटौं तहका अधिकृत आउने भएकोले कार्यालय सुचारु गरिएको अध्यक्ष लिम्बुले बताए । उनका अनुसार वडा नं १६ का वडा सचिव सुवास पराजुलीलाई उपमहानगरपालिकाले वडा सचिवकोरुपमा पठाएको पत्र प्राप्त भइसकेको छ ।