धरान: धरानको वडा नं ६ पानवारीमा एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास गर्ने र सुनको गहना लुटपाट गर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर, पक्राउ परिनसकेको कारण ती व्यक्तिको परिचय भने गोप्य राखेको छ ।
प्रहरीका अनुसार पीडितको घरमा आउजाउ गरिरहने व्यक्तिबाट नै घटना भएको हो । ‘मान्छे यही हो भनेर यकिन भइसक्यो, घरमा आइरहने मान्छे नै रहेछ,’डिएसपी ज्ञानेन्द्र बस्नेतले भने,‘रातीदेखि नै खोजतलास भइरहेको छ । चाडै पक्राउ पर्छन् ।’ घटना पछि बिहिबार नै प्रहरीले संघीय ईकाई प्रहरी कार्यालयबाट ट्रयाक डग लगेर अनुसन्धानलाई कसिलो बनाउने प्रयास गरेको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु बाख्राको खोरमा फालेको अवस्थामा भेटेको थियो । तालिमप्राप्त कुकुर पानवरी पश्चिम सेहरा पुल तरेर दक्षिण जंगलतर्फ लागेर बीचमा अलमल भएपछि प्रहरीलाई लुटपाट र हत्या प्रयास गर्नेको भेउ पाउन सकस भएको थियो ।
हिजो बिहिबार दिउँसो घरमा एक्लै भएको मौकामा ७५ बर्षीया जसमाया लिम्बुको सुनको सिक्री र कानको मारवाडी लुटिएको थियो भने लुटेराले चक्कुले पनि घाँटी रेटेर हत्या गर्ने प्रयास गरेको थियो । घाइते लिम्बुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘पीडितको स्वर खुलिसकेको छैन, तर होसमा नै हुनुहुन्छ । उहाँले पनि चिनेको जस्तो देखियो,’डिएसपी बस्नेतले भने । घटनामा एक जना मात्र संलग्न रहेको पनि उनले बताए ।