धरान: धरानको वडा नं ६ पानवारीमा श्रृंखलावद्ध अपराधिक घटनाहरु बढ्दै गएको छ ।

घरमा बसिरहेकी ७५ बर्षीया वृद्धाको सुनको गहना लुटपाट र घाँटी रेटेर हत्या प्रयास भएको घटनामा संलग्न पक्राउ नपर्दै आज राती एक विद्यालयमा चोरी भएको छ । स्थानीयबासी हिरा खत्रीका अनुसार रणदेवी आधारभुत विद्यालयको ढोका फोडेर चोरी भएको हो । हिजो सरस्वती पूजा गरेर राखिएको पूजाको भेटि पैसा चोरी भएको देखिएको छ । करिब २ बर्षअघि पनि यो विद्यालयमा चोरी भएको थियो ।

पानवारीस्थित प्रहरी चौरीका इञ्चार्ज एवं सई भेषराज राउतले सरस्वती पूजाको भेटीहरु चोरी भएको बताए । आफ्नै विद्यार्थीहरु घटनामा संलग्न हुनसक्ने आशंकामा पहिला विद्यार्थीहरुसँग बुझ्ने र केही नखुले प्रहरीलाई खबर गर्ने भनेर विद्यालयले भनेको सई राउतले बताए । उनले विगतमा पनि विद्यालयहरुमा चोरी भएको र पछिल्लो समयको घटनाहरुबारे अनुसन्धान भइरहेको बताए ।

पानवारी क्षेत्रमा धेरै चोरी, लुटपाटको घटनाहरु भइरहे पनि प्रहरीले कसैलाई पनि अहिलेसम्म पक्राउ गरेर कारबाही नगर्दा अपराधिक मानसिकता बढ्दै गएकोमा स्थानीयबासीहरु भने चिन्ता व्यक्त गर्छन् । पानवारीमा दिनप्रतिदिन सुरक्षा चुनौती बढ्दै गएकोमा स्थानीयबासीहरु त्रसित अवस्थामा रहेको पनि उनले बताए । ‘अपराधिक घटनाहरु भइरहेको छ, तर कोही पनि पक्राउ परेको छैन । यसले उनीहरुको मनोवल झन् बढेको छ, र हामी स्थानीयबासी त्रसित छौं,’खत्री भन्छन् ।

पानवारीमा पछिल्लो ३ बर्षयता सबै विद्यालयहरुमा चोरी भइसकेको छ । यहाँको सरस्वती मावि, उज्वल तारा बोर्डिंग स्कुल, ह्याब्रोन बोर्डिंग स्कुलमा पनि चोरी भएको थियो । यस्तै, करिब २ महिना अघि एक सहकारीबाट सेफ फोडेर १६ लाख जति चोरी भएको थियो भने एक साताअघि ७५ बर्षीया एक वृद्धाको सुनको गहना लुटेर र घाँटी रेटेर हत्या प्रयास भएको थियो ।