काठमाण्डौं: बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका आरोपित युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आरोपित युवक दिनेश भट्ट भागरथी अध्ययनरत सनातन माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट हुन् । जिल्ला प्रहरी कार्यालय वैतडीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनलाई आज दिउँसो सार्वजनिक गरेको हो । आरोपित भट्टले भागरथीको हत्या स्वीकार गरिसकेका छन् भने अन्य तथ्य, प्रमाणहरुले पनि घटनामा उनको संलग्नता पुष्टि भएको प्रहरीको भनाई छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आफै घटनाको अनुसन्धान गर्न १० दिनदेखि वैतडीमा छन् । पत्रकार सम्मेलनमा उनले तथ्य प्रमाणको आधारमा आरोपित भट्टलाई पक्राउ गरिएको बताए । उनका अनुासर पक्राउ परेका दिनेशले प्रतिशोध साध्नको लागि भागरथीको हत्या गरेको वयान दिएका छन् । घटना पछि दिनेश आफै पनि भागरथीको न्यायको लागि भएको आन्दोलनमा पनि भाग लिएको खुलेको छ ।
पक्राउ परेका भट्टलाई ५ दिनको न्यायिक हिरासतमा राख्न अनुमति अदालतले अनुमति पनि दिएको छ । उनीविरुद्ध भागरथीका दाइले किटानी जाहेरी दिइसकेका छन् । भागरथीको बलात्कार र हत्या घटनाको अनुसन्धान सफल बनाएर आरोपित पक्राउ गरेको भन्दै स्थानीयबासीले डिआइजी सुवेदीलगयत अन्य अधिकृतहरुलई फुलमाला लगाएर सम्मान पनि गरेका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्कदै गरेकी भागरथी साँझ घर पुगिनन् । खोजी गर्ने क्रममा भोलीपल्ट साँझ उनको शव जंगल क्षेत्रमा सडकबाट तल झाडीमा फेला परेको थियो । भागरथीको हत्या प्रकरण पनि निर्मला पन्तको जस्तै हुन नदिन प्रहरी घटनाको अनुसन्धानमा शुरुवातदेखि नै सचेत भएको थियो ।