धरानः खानेपानीको मुहान क्षेत्रमा मानिसहरुले जथाभावी रुपमा फोहोर मैला गरेको भन्दै धरान–६ पानबारीका स्थानीयहरुले मुहान क्षेत्रमा सफाइ अभियान सुरु गरेका छन् ।

खानेपानीको प्रमुख स्रोत सेहरा खोलामा मानिसहरुले नुहाउने, लुगाधुने र वनभोज स्थलको रुपमा प्रयोग गरेको कारण खानेपानी दुषित बनेकोले स्थानीयहरुले पिउने पानीको मुहान क्षेत्रमा सफाई अभियान सुरु गरेका हुन् । स्थानीय सयपत्री बोइज यूनियन क्लवको अगुवाईमा स्थानीयहरुले गत हप्तादेखी प्रत्येक शनिबार सफाई अभियान सुरु गरिएको क्लवका अध्यक्ष एसपजंङ रुम्दालीले बताए । खानेपानीको मुख्य मुहान क्षेत्र मामफाङ हो । जुन पानबारीदेखी करिब ६ किलोमिटरको दुरीमा पर्छ ।

तर, खोलाको अन्य विभिन्न भागमा बस्ती छेउमा समेत खानेपानीको मुहान रुपमा प्रयोग गरिएको पानबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रमेश बस्नेत बताउँछन् । ‘हाम्रो पानीको थुप्रै मुहान क्षेत्र छन् हामीले कलेक्सन गरेका छौं, बस्तीदेखी ६ किमीको दुरीमा पर्ने मामफाङ हाम्रो पानीको मुहान छ र खोलाको विभिन्न भागमा समेत मुहान छ,’अध्यक्ष बस्नेतले भने, ‘परम्परागत रुपमा खोलामा धेरै मानिहरु बनभोज खान आउने हुँनाले जथाभावी रुपमा पानीको बोतल प्लाष्टिक जन्य बस्तुहरु खोलामा फालेका हुनाले हामी सरसफाई गर्न आएका छौं ।’ उनले पानीको मुहान क्षेत्रमा अन्य ठाउँबाट घुम्न आउने, बनभोज खानआउनेले फोहोर गर्ने गरेको भन्दै यसरी फोहोर नगरिदिन आग्रह समेत गरे ।

panbari1

मुहान क्षेत्रबाट जथाभावी रुपमा फालिएका प्लाष्टिकका बोतल, वियरका बोतल, प्लाष्टिकका झोला, कपडालगायतका ८ देखी १० बोरा फोहोर संकलन गरिएको थियो । हिउद लागेसंगै पानीको मुहान सुक्दा पानीको चरम अभाव भोग्दै आएको स्थानीयहरुले दुषित पानी समेत पिउन बाध्य हुनु परेको स्थानीयको दुखेसो छ । पानबारी खानेपानी उपभोक्ता समितिको तथ्यांङक अनुसार पानबारी क्षेत्रमा करिब २ हजार १ सय घरधुरीमा धारा जडान गरिएको छ ।

खानेपानीको मुहान क्षेत्र सरसफाइमा स्थानीयसंगै वडाध्यक्ष भुबनसिंह बस्नेत समेत सहभागी थिए । उनले जथाभावी फोहोर हुन नदिन मुहान क्षेत्र बाहिर छुटै नुहाउने व्यावस्था गरिने बताए । ‘खानेपानीको मुहान क्षेत्रलाई फोहोर हुन नदिन मुहान क्षेत्र भन्दा बाहिर छुटै नुहाउने, लुगाधुन ठाउँ बनाउँने सोच छ’ वडाध्यक्ष बस्नेतले भने ‘पानबारीको लागि खानेपानीको योजनाको डिपिआर समेत तयार गरेका छौं, त्यो अबोैंको योजना हो, खानेपानीलाई व्यावस्थित बनाउँछौं, यो समस्या विस्तारै हट्छ ।’