धरान: धरान ८ दुर्गापथका ३७ बर्षीय तिलबहादुर माझी केही दिनयता अस्वभाविक गतिविधि गरिरहेका थिए । उनी घरि तीन तला माथि घरको छतबाट हाम्फाल्थे, घरि जथाभावी दौडन्थे ।
उनको गतिविधिले तिलबहादुरमा मानसिक विचलन अथवा मानसिक रोगको लक्षण देखिन्दैछ भन्ने बुझ्न कठिन थिएन । तर, उनले समयमा नै उपचार पाएनन् । परिवारले उनलाई अस्पताल लैजानुको साटो पुख्यौली थलोतिर लगेर झारफुक गर्न थाले । तिनै तिलबहादुरले बिहिबार आफ्नै घरमा धारिलो खुकुरीले ३१ बर्षीय श्रीमति कमला माझी(सम्झना)लाई प्रहार गरे विभत्स हत्या गरे । अहिले तिलबहादुर र मृतक सम्झनाको माइती शोकमा डुबेको छ ।
तिलबहादुरको आफन्तजनका अनुसार राजाबास लगेर धामीकोमा झारफुक गरेर आज बिहान मात्र ल्याएको थियो । उनलाई आजै अस्पताल लैजाने भनेपनि परिवारले भोली(शुक्रबार) मात्र अस्पताल लैजाने भनेर ढिलाई गर्दा यो विभत्स घटना हुन पुगेको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले तिलबहादुरमा केही दिनदेखि अस्वभाविक गतिविधि देखिएको स्थानीय र परिवारजनबाट जानकारी पाएको बताए । तिलबहादुरलाई नियन्त्रणमा लिइएको र मृतकको शव वीपी प्रतिष्ठानको मर्चरीमा राखिएको पनि उनले बताए । ‘वरामद खुकुरीमा रगत लागेको देखिएको छ, लाश वीपीमा छ, र तिलबहादुर प्रहरी नियन्त्रणमा छ,’डिएसपी बस्नेतले भने ।