धरान: धरान १२ स्वस्तिका चौकस्थित खानेपानीको रिजर्भ ट्ंयाकीको बिजुलीको तार र मेशिनरी संरचनाहरुमा गएराति आएको हावाहुरीले क्षति पुर्याएको छ ।
रिजर्भ ट्यांकीको बिजुलीको तार र कन्ट्रोल प्यानलमा क्षति पुर्याएको खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलले जानकारी दिए । उनका अनुसार मुख्य विद्युत सप्लाई हुने कन्ट्रोल प्यानलमा क्षति पुर्याएको कारण खानेपानी वितरणमा समस्या भएको छ । कन्ट्रोल प्यानल बिग्रिएको कारण आज (शुक्रबार) धरानको १२, ९, १०, ११, १८ र २ नं. वडामा खानेपानी वितरण हुन नसकेको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार आज स्वस्तिका चौकदेखि पूर्व चतर लाईन, भानुचौक, बगैचा लाईन, आचार्य लाईन, पुतली लाईन, कलेज रोड लगायतका स्थानहरुमा पानी वितरण गर्ने पालो रहेको थियो । निर्देशक पोखरेलका अनुसार राति देखि नै प्राविधिक कर्मचारीले बनाउने प्रयास गरिरहेका छन् । बिग्रिएको संरचना बनेलगत्तै पानी वितरण गर्ने उनले बताए । राति नै रिजर्भ ट्यांकीमा क्षति पुर्याएको थाहाँ पाएपछि विद्युत प्राधिकरणलाई खबर गरिएको थियो । साविकको खानेपानी संस्थानको संरचनाहरु ज्यादै जीर्ण अवस्थामा रहेको कारण एकपछि अर्को बिग्रिदै गएको छ ।