धरान: आफ्नै घरको खानेपानी ट्यांकीभित्र विनोद लिम्बुको शव भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले घटनाबारे हिजो (बुधबार)देखि नै गम्भीरतापुर्वक अनुसन्धान शुरु गरिएको जानकारी दिए । उनका अनुसार धारिलो हतियार भेटिनु र शव लुकाउनुले हत्या भएको अनुमान छ । तर, अनुसन्धानकै क्रममा भएकोले यसैभन्न सक्ने अवस्था नरहेको उनले बताए । डिएसपी कुँवरले भने,‘यसै भन्न सक्ने अवस्था छैन । धारिलो हतियार, लाश लुकाउन खोजेको अवस्था देखिन्छ । अनुसन्धान गर्दैछौं ।’

मृतक घरमा एक्लै बस्ने गरेका थिए । घटनास्थल, बाहिरी परिस्थितिलगायतको अध्ययन अनुसन्धान भइरहेको डिएसपी कुँवरले जानकारी दिए । ‘राती साढे झण्डै पौने १२ बजेसम्म हामीले घटनास्थलमा अनुसन्धानकै क्रममा थियौं । संघीय प्रहरी ईकाईबाट डग ल्याएर पनि अनुसन्धान गर्यौं,’डिएसपी कुँवरले भने । 

हिजो साँझतिर मृतक लिम्बुका आफन्तले घरभित्र रगतको छिटाहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटी काटिएको अवस्थामा शव भेटिएको छ भने दुवै हातमा पनि थुप्रै चोटहरु छ । मृतक इजरायलबाट फर्किएपछि धरान ५ मा घर बनाएर तरकारी खेती गर्दै बसेका थिए । उनको श्रीमति इजरालयमै छन् भने परिवारका अन्य सदस्यहरु धरानको भोटेपुलमा बस्छन् ।