धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा बाढी आएपछि श्रीलंका टापुको गरैयामा फसेको भनिएकामध्ये १० जनाको मात्र उद्दार भएको छ ।
उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली बोट लिएर टापुसम्मै पुगेपनि अन्य भने आउन नमानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी सञ्जयसिंह थापाका अनुसार ६ जना महिला, २ पुरुष र २ जना बच्चाको मात्र उद्दार भएको छ । अरु भने आउन नमानेको उनले बताए । ‘अरु ३०, ३५ जना टापुमै बसेका छन्, उनीहरु आउनै मानेनन्,’एसपी थापाले भने,‘कोशीमा पानीको सतह पनि थोरै घटेकोले असुरक्षा छैन भनेर अरु अएनन्, महिला र केटाकेटी गरि १० जना मात्र आए ।’
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६ का ३ दर्जन बढी मानिसहरु टापुमा फसेको जानकारी आएपछि सुनसरीका सिडिओसहित सुरक्षा अधिकारीहरु उद्दारको लागि गएका थिए । सेना र सशस्त्रको टोली बोट लिएर टापुमा पुगेका थिए । त्यहाँ बषौंदेखि खेती गर्ने, पशुपालन गर्ने गरेको कारण उनीहरु आउन मानेनन् । टापुमै बसेकाहरुसँग डुंगा पनि रहेकोले बाढीको खतरा भएमा उनीहरु आफै पनि पार गरेर आउनसक्ने भएकोले महिला र केटाकेटीलाई बिषेश आग्रह गरेर ल्याएको हो ।
एसपी थापाका अनुसार मचानजस्तो घर बनाएर बसेको र सबैको गाई, भैसी, बाख्रा, कुखुरा, टर्कीलगायत पालन गरिरहेकोले रेखदेख गर्नुपर्ने भन्दै आउन नमानेका हुन् । ‘गत बर्ष यो भन्दा ठुलो बाढी आएको थियो भन्दै आउन मानेनन्,’एसपी थापाले भने,‘यसपाली २, ३ जना पहिलो चोटी गएकोले बिहान डराएर डुंगामा फर्किहालेछन्, उनीहरुले नै उता धेरै मान्छे फस्यो भनेकोले उद्दारको लागि टोली गएको थियो ।’