धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा सभापतिमा मुरारी भट्टराईसहित पदाधिकारीमा उनको प्यानल विजयी भएको छ । 

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा भर्खर सम्पन्न मतगणना अनुसार सभापतिमा भट्टराईले १३९ मत पाउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी  अजय राईले १०८ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १५५ मत र डिल्लीसेर राईले १३० मत पाएर विजयी भए । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ९२ र अमृतबहादुर खड्काले ८२ मत पाएका छन् ।

यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले १४४ र विजय घिमिरेले १४३ मत पाएर विजयी भए भने राई प्यानलका उम्मेदवार संगीता राईले १२० र सुरजप्रसाद अधिकारीले ६३ मत पाएका छन् । यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले १५१ र मञ्जु राईले १४४ मत पाएर विजयी भएका छन् भने राई प्यानलका श्रवण धामीले ८१ र बिक्रम राईले ८५ मत पाएका छन् ।