धरान: नेकपा एमाले सुनसरीको अध्यक्षमा ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

इनरुवामा जारी ७ औं जिल्ला अधिवेशनमा आज अध्यक्षमा ३ जनाले मनोनयन दर्ता गरेका हुन् । जिल्ला निर्वाचन कमिटीका अनुसार अध्यक्षमा खेमराज पोख्रेल, रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरीले उम्मेद्वारी दर्ता गराएका हुन् । पोख्रेल अधिवेशन आयोजक कमिटीका अध्यक्ष थिए भने भण्डारी र चौधरी दुवै पुर्वअध्यक्ष हुन् । पोख्रेल र भण्डारी दुवै संस्थापन पक्षका हुन् । इटहरीका मेयर चौधरी भने पुष ५ गते पछिको घटना क्रममा तटस्थ झै रहेका थिए । 

यसैगरि, एक जनाको उपाध्यक्ष पदमा पनि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा मनोनयन दर्ता गर्नेहरुमा लिलम बस्नेत, निलम खनाल र नन्दकुमार बस्नेत छन् । लिलम र निलम संस्थापन पक्षका हुन् भने नन्दकुमार १० बुँदे पक्षका हुन् । 

यस्तै, एक जनाको सचिव पदमा २ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेमा संस्थापन पक्षका पर्शुराम यादव र १० बुँदे पक्षका शुत्रघन यादव रहेका छन् । यस्तै, २ जना उपसचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । उपसचिवमा संस्थापन पक्षका अञ्जनीकुमार पोख्रेल, लहरुमाया जिमी, राम कोइराला, योग्यराज खड्काले उम्मदवारी दिएका छन् भने पुर्वमाओवादी पक्षका अर्जुन गहतराज, १० बुँदे पक्षका पदमप्रसाद लिम्बु र लोकेश निरौलाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।