धरान: बलात्कार पछि हत्या गरिएको लेटाङकी बालिकालाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । 

लेटाङ नगरपालिकाका सबै विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् । सयौंको संख्यामा लेटाङका विद्यार्थी, शिक्षक र अभिभावकहरुसमेत आन्दोलनमा सहभागी छन् । 

लेटाङ प्रहरीका इञ्चार्ज एवं प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार आन्दोलन स्वतःस्फुर्त देखिएको छ । आन्दोलनमा विद्यार्थीसँगै शिक्षक र अभिभावकहरु पनि सहभागी भएको उनले जानकारी दिए । आन्दोलन नाराबाजी भइरहे पनि शान्तिपुर्वक भइरहेको पनि उनले बताए । आन्दोलनकारीहरु नगरपालिकामा प्रर्दशन गर्न त्यसतर्फ गएका छन् । 

बुधबार स्कुलबाट घर फर्कदै गरेकी लेटाङ नगरपालिका ८ जाँते च्यामिरेकी १२ बर्षीय बालिका वेपत्ता भएकी थिइन् । दुई दिनपछि उनको शव वन क्षेत्रमा गाडिएको अवस्थामा भेटिएको थियो । उनलाई बलात्कार गरि हत्या गरेको आशंका गरिएको छ । उनको हत्या गरेको आरोपमा ६३ बर्षीय दिपक गिरी पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरेर आजै विराटनगरमा सार्वजनिक गर्दैछ । 

karuna1