धरान: गएको बुधबार स्कुलबाट घर फर्किदै गर्दा वेपत्ता भएकी १२ बर्षीया बालिकाको बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दे बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीका अनुसार पक्राउ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा मृतक बालिकालाई पछ्याउदै गएका थिए ।

जंगल बीचमा पुगेपछि उनले बालिकालाई फकाएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव गरेका थिए । बालिकाले अस्वीकार गरेपछि समातेर जर्बजस्ती भुईमा लडाएर जर्बजस्ती करणी गरेको र उक्त कुरा बुबालाई भनिदिन्छु भन्दै दौडिएपछि पोल खुल्ने डरले हत्या गरेको एसपी जिसीले जानकारी दिए । 

प्रहरीका अनुसार गिरीले पोल खुल्ने डरले बालिकालाई जमिनमा लडाएर घाँटी र मुख थिचेर हत्या गरेका थिए । त्यसपछि नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारेर ढुंंगाले छोपेका थिए । साथै, बालिकाको सबै कपडा र जुत्तासमेत आफैले बोकेर ल्याएर घर पछाडि खोल्सीमा जलाएर नष्ट गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ वमोजिम जन्मकैदको व्यवस्था अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएकोछ ।