धरान: प्रसुती गराउने क्रममा पेटभित्रै बच्चा र पछि आमाको पनि मृत्यु भएको घटनामा कुनै सहमति विना नै पीडित पक्षले शव बुझेर लगेका छन् ।

घटनाबारे वास्तविकता पत्ता लगाउन प्रतिष्ठानका पदाधिकारीहरुले छानबिन समिति गठन गर्ने प्रस्ताव गरेपनि रिपोर्टमा विश्वास नहुने भन्दै मृतक पक्षले स्वीकारेनन् । अस्पताल प्रशासन र पछि कार्यवाहक उपकुलपतिसँग पनि मृतक पक्षले वार्ता गरेपनि विना निष्कर्ष नै शव बुझेर लगेका हुन् । पीडित परिवारले मृतक(आमा) लक्ष्मी बुढाथोकी र बच्चाको आजै इटहरीको बुढीखोलामा दाहसँस्कार गरिसकेका छन् । ‘क्षतिपूर्तिको पनि केही कुरा भएन, छानबिनमा पनि हामीलाई विश्वास छैन,’मृतक लक्ष्मीकी ससुरा कृष्णबहादुर बुढाथोकीले भने,‘वीपीको शव वाहनले घरसम्म लाश ल्याइदियो, र हामीले आजै अन्त्येष्टी गरिसक्यौं ।’

bpkihs-delevary-death

मृतक लक्ष्मी बुढाथोकीकी आमालाई सम्झाउदै आफन्तजनहरु ।

इटहरी ४ की लक्ष्मीलाई प्रसुती गराउन मंगलबार प्रतिष्ठान ल्याइएको थियो । उनलाई नर्मल डेलिभरी गराउने क्रममा बुधबार राती ८ बजेतिर बच्चाको पेटभित्रै मृत्यु भएको थियो भने बिहिबार बिहान करिब २ बजेतिर आमाको पनि मृत्यु भएको थियो । घटनाबारे बिहिबार बिहान मृतक पक्षले अस्पताल प्रशासन र प्रसुतीका डाक्टरहरुसँग छलफल गरेका थिए । उक्त छलफलबाट पनि चित्त नबुझे पछि मृतक पक्षहरु कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालसँग पनि छलफल गरेका थिए । तर, उक्त छलफलबाट पनि कुनै निष्कर्ष निस्कन सकेन ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहले छानविनको प्रस्ताव गरिए पनि विश्वस्त नहुने भन्दै मृतक पक्षले स्वीकार नगरेको बताए । ‘हामीले छानबिन गरेर सत्यतथ्य पत्ता लगाऔं भन्दा पनि उहाँहरुले विश्वस्त रिपोर्ट आउदैन भनेर मान्नु भएन, समिति गठन नगरी नै जानु भयो । हामीले घरसम्म शव पुर्याउने वातावरण मिलायौं,’डा.साहले भने ।