धरान: स्कुटर सिकाई दिने वहानामा एक नावालिकालाई जंगलमा लगेर बलात्कार गर्ने धरानको वडा नं ६ पानवारीका सन्तोष कार्कीलाई पाँच दिनको म्याद थप भएको छ ।

पीडित नावालिकाका संरक्षकतर्फबाट किटानी जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले कार्कीविरुद्ध जर्बजस्ती करणीमा कानुनी कारकाही प्रक्रिया अघि बढाएको थियो । जिल्ला अदालत सुनसरीले कार्कीलाई अनुसन्धानको लागि ५ दिनको म्याद थप गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ,’डिएसपी न्यौपानेले भने ।

प्रहरीले कार्कीलाई आइतबार साँझ पानवारीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध पीडित नावालिकाका संरक्षकले मौखिक उजुरी गरेपछि पानवारी प्रहरी चौकीले कार्कीलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय धरान पठाएको थियो । पीडित नावालिकाको उमेर १४ बर्ष रहेको छ । उनको आमा सानैमा मृत्यु भएको र बुबा पनि वेपत्ता भएकोले उनी आफन्तको संरक्षणमा बस्दै आएकी थिइन् । संरक्षक पीडित बालिकाकी हजुरबा हजुरआमा पर्ने हुन् । उनीहरु पहाड घर संखुवासभामा भएको बेला पीडक कार्कीले स्कुटर सिकाइदिने वहानामा जंगलमा लगेर बलात्कार गरेको पीडितले बताएकी छिन् ।