धरान: सुनचाँदी पसलहरुमा पैसा जम्मा गर्नु र ब्याज लिनु गैरकानुनी हो । सुनचाँदी पसलहरुले यसरी आर्थिक एवं बित्तिय कारोबार गर्न पाउदैनन् । तर, बढी ब्याज पाउने लोभमा परेर सर्वसाधारणहरुले सुन पसलहरुमा गैरकानुनी कारोबार गरिरहेका छन् ।

यसरी सुनचाँदी पसलहरुमा भइरहेको कारोबार गैरकानुनी मात्र होइन, अत्यन्तै जोखिममा पनि छ । ती सुन पसलहरुमा सरकारी निकायले जतिबेला पनि छापा मारेर काननुी कारबाही गर्न सक्छ भने व्यवसायी जनताको करोडौं पैसा लिएर गायब हुने खतरा पनि उतिकै हुन्छ । पछिल्लो समयमा धरान ३, कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी एक महिनादेखि वेपत्ता भएपछि पुनः सुनचादी पसलको भइरहेको गैरकानुनी कारोबार मात्र सतहमा आएन, ब्याजको लोभमा सुन पसलमा कारोबार गर्नेहरुको पैसा कति जोखिममा छ भन्ने पनि प्रष्ट पारेको छ ।

धरानको वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठ सुन पसलमा कारोबार गर्नु अवैध भएकोले पैसा जोखिममा हुने बताउँछन् । जनता आफै सचेत भएर पैसा बैंकमा मात्र जम्मा गर्ने वा कारोबार गर्नुपर्ने उनको सुझाव छ । ‘बित्तिय कारोबार बैंकमा गर्नुपर्छ भनेर सरकारले पनि भनेको छ, तर जनताहरु बैंकमा धेरै झञ्झट हुन्छ भनेर छिटोमिठो तरिकाले यसरी कारोबार गर्छन् । तर, यसरी गर्न नहुने हो,’अध्यक्ष श्रेष्ठले भने,‘यसरी सुनपसलमा पैसा राख्नु गैरकानुनी हो । यसरी कारोबार गर्दा पैसा डुब्ने डर छ भनेर यो भन्दा अघि र यो घटनाले पनि देखायो । जनता आफै सचेत हुनुपर्छ ।’

धरानमा यसअघि पनि सुनचाँदी पसलबाट कारोबार गर्नेहरुको करोडौं रुपैया डुबेको २ वटा घटना सार्वजनिक भईसकेको थियो । धरानकै हलेसी गहना गृहमा सिआइबीले छापा मारेको थियो भने शिखर सगरमाथा ज्वेलर्सका सञ्चालकले सहकारीको पैसासमेत डुबाएर फरार भएका थिए । अहिले कैलाश पथस्थित न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी एक महिनादेखि कहाँ छन् भन्ने पत्तो छैन । धरानका अन्य थुप्रै नाम चलेका सुन व्यवसायीहरुले पनि गैरकानुनीरुपमा लेनदेन गरिरहेको र ती पसल पनि जोखिममा रहेको जानकारहरु बताउँछन् । जयन्ती स्टोरमा मानिसहरुले कम्तीमा १५ प्रतिशत ब्याज पाउने लोभमा करोडौं रुपैया राख्न दिएको खुलेको छ । खड्गीले पैसा जम्मा गर्नेहरुलाई कागजमा लेखेर प्रमाणकोरुपमा दिने गरेका थिए । प्रारम्भिक तथ्यांक अनुसार कम्तीमा ७ करोड रुपैया खड्गीले लिएको पाइएको छ ।

new-jayanti2

सुनचाँदी व्यसायी संघले पटक पटक गैरकानुनी वित्तिय कारोबार नगर्न सर्कुलर जारी गरेपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन् । संघका सुनसरीका अध्यक्ष किसन मास्केका अनुसार हलेसी गहनाको घटना भएलगत्तै संघले आफ्ना सदस्य व्यवसायीहरुलाई वित्तिय कारोबार नगर्न सर्कुलर जारी गरिएको थियो । तर पनि पैसा लिएर ब्याज दिने गरेको पछिल्लो घटनाले पनि देखाएको उनले बताए । ‘मानिसहरु पनि ब्याजको लोभमा सुन पसलमा नै पैसा राख्न पुग्छन्, केही व्यवसायीहरुले पनि यो गैरकानुनी हो भन्ने थाह पाएर पनि गरिरहेको भन्ने यो घटनाले देखायो,’अध्यक्ष मास्केले भने,‘पैसाको लेनदेन जोखिममा हुन्छ । एक, दुई व्यवसायीले गर्दा इमान्दार व्यवसायीलाई पनि असर परिरहेको छ ।’ उनले सुन पसलले आफ्ना बिशेष ग्राहकहरुको सुन धितो राखिदिनुपर्ने बाध्यता रहेको भने खुलाए । ‘आफैले बेचेको सुन धितो राखिदिनुपर्ने बाध्यता चै छ, यो व्यवहारिकता पनि हो । तर ब्याज दिएर पैसा लिने बाध्यता हुदैन,’मास्केले भने ।

सुनचाँदी पसलहरुमा पैसा जम्मा गर्ने र बढी ब्याज लैजाने गैरकानुनी कारोबार भएकोले गर्न नपाइने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । यस्तो कारोबार भइरहेको सुचना वा जानकारी आएमा आवश्यक कारबाही हुने पनि डिएसपी न्यौपानको भनाई छ । ‘बैंक, बित्तिय संस्थामा मात्र कारोबार गर्न पाइन्छ । यसरी ब्याजको लोभमा सुनपसलमा कारोबार गैरकानुनी हो,’डिएसपी न्यौपानेले भने,‘यसरी ब्याजको लोभमा दिएको पैसा सुरक्षित पनि हुदैन, जोखिममा हुन्छ, त्यसैले यस्तो कारोबार नगरेकै राम्रो हो ।’ उनले न्यु जयन्ती स्टोरमा वित्तिय कारोबार भएको रितपुर्वक जाहेरी दरखास्त दिएको आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने पनि बताए । सञ्चालक खड्गीकी श्रीमति गिता र केही ग्राहकहरुले प्रहरीमा खोजतलासको निवेदन भने दिएका छन् ।