धरान: भारतको दिल्लीमा धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा सुनसरीका ४ जनालाई स्वाब परीक्षणको लागि धरान ल्याइएको छ। ती मध्ये एक जना धरानकै भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उनीहरुलाई बुधबार धरान १३ फुस्रेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको छ । चार जना मध्ये २ जना इनरुवाका हुन् भने एक जना दक्षिणी भेग हरिनगराका छन् । अर्का एक जना धरानकै भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार कोरोनाको लक्षण १४ दिनभित्र देखा पर्छ । चार जना भने दिल्लीबाट फर्किएको १४ दिन भन्दा बढी समय बितिसकेको छ । त्यसैले उनीहरुबाट संक्रमणको जोखिम नभएको प्रजिअ पौडेलले बताए । ‘प्रहरीले ट्रेसिङ गर्दा नै २१ दिन बितिसकेको थियो । उनीहरुको स्वास्थ्यमा पनि समस्या छैन, त्यसैले खतरा छैन,’प्रजिअ पौडेलले भने,‘तर पनि समाजमा एक किसिमको त्रास भइरहने भएकोले ढुक्क हुनको लागि स्वाब टेष्ट गर्न धरान पठाइएको हो ।’

धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको भारतीय मिडियाहरुले नै सार्वजनिक गरेको थियो । त्यसपछि गृहमन्त्रालयले नेपालबाट धार्मिक सभामा सहभागी हुन गएका व्यक्तिहरुको खोजी कार्य तीब्र बनाएको थियो । प्रजिअ पौडेलका अनुसार ती चार जना होम क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई स्वाब लिएपछि सम्भवतःघर फर्काउने पनि प्रजिअ पौडेलले जानकारी दिए । ‘उनीहरुको लक्षण देखिने अवधि पनि पार भइसकेको छ । कुनै समस्या छैन, त्यसैले स्वाब लिएर घर नै फर्किन्छन्,’उनले भने ।