धरान: नेपाली कांग्रेसले आफ्ना सांसदहरुको लाज ढाक्नको लागि राहत विरतणको विरोध गरेको भन्दै नेकपाले प्रतिक्रिया जनाएको छ ।
नेकपा सांसदहरुले वडा कार्यालयहरुलाई राहत दिएको बिषयमा कांग्रेसले विरोध जनाएपछि नेकपा धरान उपमहानगर कमिटिले यस्तो प्रतिक्रिया दिएको हो । नेकपाका अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दशन श्रेष्ठले विज्ञप्ती जारी गर्दै नेकपा सांसदहरुले दिएको राहतलाई कांग्रेसले अराजनीतिक कार्य भन्दै गरेको टिप्पणीप्रत्ति आपत्तिसमेत प्रकट गरेका छन् । नेकपाले यसअघि नगरस्तीय धरानको फुड बैंकमा २५ सय केजी चामल, २० केजी न्युटेला र सांसद उमिता बराइलीले २ सय १० केजी चामल जम्मा गरेको पनि विज्ञप्तीमा स्मरण गराउदै कांग्रेस सांसदहरुले अहिलेसम्म राहत वा सहयोग नगरेको पनि उल्लेख गरिएको छ । ‘धरान उपमहानगरभित्र कांग्रेसका तीन जना सांसद रहेको र अहिलेसम्म उनीहरुबाट नगरस्तरीय कुनै पनि सहयोग नगरेको हुँदा आफ्ना लाज ढाक्न अर्कालाई निन्दा गर्ने प्रवृत्तिको समेत भत्सर्ना गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।
नेकपाले नेपाल सरकारले जारी गरेको राहत सम्बन्धि निर्देशिका वमोजिम नै एकद्वार प्रणालीको पुर्णपालना गर्दै जुनसुकै पार्टीबाट निवार्चित भएपछि वडाका जनप्रतिनिधिहरुलाई राहत हस्तान्तरण गरिएको नेकपाको भनाई छ । सांसदहरुले दिएको राहतलाई धरानका २० वटै वडाका अध्यक्षहरुले सकरात्मक कार्यकारुपमा लिदै आभारसमेत व्यक्त गरेको भएपनि कांग्रेसले विज्ञप्ती जारी गर्दै अराजनीतिक कार्य भनि गरेको टिप्पणीप्रति नेकपाले आपत्ति प्रकट गरेको छ । साथै, विज्ञप्तीमा कांग्रेसबाट निवार्चित वडाअध्यक्षहरुले वडामा प्राप्त भएको राहतलाई फुड बैंकमा जम्मा गरेको भन्ने जानकारी पाएको उल्लेख गर्दै उनीहरुप्रति आभारसमेत प्रकट गरिएको छ ।
सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय तथा प्रदेशसभाका सांसदहरुले निर्वाचन क्षेत्रको २७ वटै वडा कार्यालयहरुमा राहत वितरण गरेका थिए । सांसदहरुले एकद्वार प्रणाली अनुसार नै जनताको नजिकको सरकार वडालाई राहत दिएकोले एकद्वार प्रणालीको उल्लघन नभएको दाबी गरेका थिए । वस्ती र जनतालाई सिधै राहत दिएको भए मात्र आफुहरुले एकद्वारको उल्लंघन गरेको हुने सांसदहरुको भनाई थियो । कांग्रेसले भने नगरस्तरीय फुड बैंकलाई वाइपास गरेर वडाहरुमा दिएको भन्दै विरोध जनाएको थियो ।