धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागीबाट क्षति पुगेका परिवारलाई तत्काल नगरपालिका र रेडक्रसले राहत उपलब्ध गराउने भएको छ ।
आज बिहान बसेको सर्वपक्षीय छलफलले आगलागीमा परेको हातमुख जोड्नै समस्या भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार आगलागीबाट ८ घर जलेको पुष्टि भएको छ भने ती घरमा १२ वटा पसल, व्यवसाय पनि जलेर नष्ट भएको प्रजिअ निरौलालले जानकारी दिए । ‘ती घर, व्यवसायमा ३३ परिवार आश्रित भएको निष्कर्ष भएको छ,’प्रजिअ निरौलाले भने,‘हातमुख जोड्नै समस्या भएको परिवारलाई तत्काल फुङलिङ नगरपालिकाले खाद्यान्न राहत दिने र रेडक्रस सोसाइटीले ओढ्ने, ओछ्याउने, भाडाकुडालगायत राहत दिने निर्णय भएको छ ।’
सोही बैठकले उद्योग वाणिज्य संघ, नगरपालिका, प्रहरी र रेडक्रसले क्षतिको विस्तृत विवरण संकलन गर्ने पनि निर्णय भएको प्रजिअ निरौलाले जानकारी दिए । उनका अनुसार राती करिब १० बजेबाट आगलागी शुरु भएको थियो । राती २ बजे आगो नियन्त्रणमा आएको र बिहान ५ बजे पुर्णरुपमा नियन्त्रणमा आएको पनि प्रजिअ निरौलाले बताए ।