धरान: कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहदा धरानमा भने बाहिर(दक्षिण) क्षेत्रबाट अपरिचित मानिसहरु लुकीछिपी आउने क्रम रोकिएको छैन ।

उपमहानगरपालिका र प्रहरीले धरान आउने नाकामा कडाई गरेको भनिरहे पनि अपरिचित मानिसहरुको प्रवेश जारी छ । खास गरी धरानको हरियाली वन समुह र कुम्भीआहालबाट रेल्वे हुदै मानिसहरु धरान भित्रिरहेको पाइएको छ । उपमहानगरपालिकाले धरानको सडकमा वेवारिस रहेका सबै मानिसहरुलाई खाने र बस्ने व्यवस्थापन गरेको छ । तर, पछिल्लो दिनहरुमा असहाय, मागेर हिड्ने जस्ता मानिसहरु देखिएका छन् ।

ती मानिसहरु धरानको दक्षिणी क्षेत्रबाट आएको भन्ने खुलेको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार हिजो बुधबार मात्र धरानमा २० जना माग्ने व्यक्तिहरु भेटिएको थियो । उनीहरुले आफुहरु मधेशबाट आएको बताएका थिए । ‘कोही मोटरसाइलमा पुर्याउन लगाएर आएको भन्छ, कोही डिह्दै आए पनि भन्छ,’कोइरालाले भने,‘धरानको २०, ४, ५ र ६ वडाबाहेक सबै वडामा त्यस्ता मानिसहरु भेटियो । यो बारे मेयर, उपमेयरलाई जानकारी दिइसकेका छौं ।’

धरानका मेयर तिलक राईले पनि दक्षिणी भुगोल चारकोशे जंगलको नाकाहरुबाट मानिसहरुलाई राती ल्याएर छोडिदिने गरेको पाइएको बताए । केही मानिसहरुलाई भने कति काम गर्न झिकाएको पनि पाइएको उनले बताए । ‘नगर प्रहरी र स्वास्थ्य महाशाखालाई निर्देशन गरेर तीनकुने, हरियाली र रेल्वे नाकामा नगर प्रहरी र स्वास्थ्यकर्मी बसेर स्वास्थ्य परीक्षण पनि गर्ने र कडाई पनि गर्ने भनेका छौं,’मेयर राईले भने,‘सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि भनेका छौं । त्यो नाकाहरुलाई कडाईको साथ चेकजाँच होस् भनेका छौं ।’

टोल विकास संस्थाहरुलाई परिचालन गर्नुपर्छ: उपमेयर

उपमेयर मञ्जु भण्डारी सुवेदीले दिल्लीबाट हिड्दै मानिसहरु आइपुग्नु निक्कै चिन्ताजनक कुरा भएको बताइन् । उनले ३ जनालाई क्वारेन्टाइनमा राखिएको बताउदै सीमालाई अझै कडाई गर्नुपर्नेमा जोडदिइन् । सडक मानिसको हुलियाका मानिसहरु धरानमा आइरहेको उनले बताइन् । ‘कहाँबाट आउछन् ? कहि न कही नाकाबाट आइरहेका छन् । हिड्दै पनि आइरहेको छ,’उपमेयर भण्डारीले भनिन्,‘मुख्य राजमार्गमा चेकजाँच कडाई छ, तर सहायक बाटोबाट प्रवेश गरिरहेका छन् ।’

 धरानलाई सुरक्षित बनाउन सीमा नाकाहरु सिल गर्न प्रहरी प्रशासनसँग समन्वय गरेको उनले बताइन् । कडाई गर्नकोलागि वडा र टोल विकास संस्था परिचालित हुनुपर्ने उनले बताइन् । प्रहरी जनशक्ति पनि पर्याप्त नभएकोले नागरिकहरु आफैले यो बेला सहयोग गर्नुपर्ने उपमेयर भण्डारीले बताइन् । ‘नाकाको टोल विकास संस्थाहरु त्यो ठाउँको लागि परिचालित हुनुपर्छ । आफ्नो एरियामा मानिसहरु कहाँबाट आएको, कुन ठाउँमा जाने, त्यो ठाउँमा पुगे कि पुगेनन् भनेर वडाअध्यक्षहरुसँग समन्वय गर्नुपर्छ,’उनले भनिन्,‘कुन वडामा जादैछ, कहाँ बस्दैछ भनेर आवश्यक जानकारी राख्नुपर्छ । भोली कन्ट्याक्ट ट्रेसिङ गर्न सहज हुन्छ । वडा कार्यालय र टिएलओ परिचालित गर्नुपर्छ ।’