पर्सा: उपचारको क्रममा अस्पतालबाट कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्ति भागेमा उनीहरुलाई पक्राउ गर्न सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने भएको छ ।

यो निर्णय पर्सा जिल्लामा भएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा हिजो बिहिबार बसेको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले यस्तो निर्णय गरेको हो । पर्सा जिल्लामा कोही कोरोना संक्रमित भागेमा अब सुरक्षा निकायले पक्राउ गर्न गोली समेत प्रहार गर्न सक्ने छ । बैठकमा सिडिओसहित, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, पर्साका मेयर र डाक्टर सहभागी थिए ।

बैठकको निर्णय बुँदा ३ मा ‘कोरोना संक्रमित व्यक्ति उपचारको क्रममा भाग्न खोजे त्यस्तो व्यक्तिलाई नियन्त्रणमा लिन सुरक्षा निकायले आवश्यक बल प्रयोग गर्न सक्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउने अधिकार प्रदान गरिएको’ उल्लेख छ। यसअघि पर्साको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत दुई कोरोना संक्रमित व्यक्ति शौचालय जाने बाहनामा भेन्टिलेसन भाँचेर भागेका थिए । उनीहरुलाई लामो मेहनत पछि प्रहरीले पक्राउ गरिसकेको छ ।