धरान: सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमित भएको पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ ।

अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन बन्द गरी सिल गरिएको बराहक्षेत्र नगरपालिकाले जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत वडा १० र ११ मा देखिएपछि संक्रमण थप फैलन नदिन दुवै वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए ।

उनका अनुसार ती सशस्त्रका हवल्दार राहत बाँड्दा पनि राहतको टोली सँगसँगै हिडेका थिए भने वडा नं १० स्थित प्रकाशपुर पनि नियमित आउजाउ गरिरहेका थिए । ‘१० नम्बर प्रकाशपुरमा सामानहरु लिन आउने गरेका रहेछन्, उनको ससुराली पनि प्रकाशपुर नै रहेछ,’मेयर खनालले भने,‘जनतामा त्रास फैलिएकोले थप संक्रमण फैलन नदिन वडा १० र ११ लाई सिल गरेका छौं ।’

संक्रमित सशस्त्रको हवल्दार कहाँ कहाँ गएका थिए, को कोसँग सम्पर्कमा पुगे भनेर पहिचान गर्ने काम भइरहेको पनि मेयर खनालले जानकारी दिए । ती सबैको पहिचान भइसके पछि पिसिआर परीक्षण गरिने पनि उनले बताए । ‘हामीले नै ५ लाखको सामान(किट) मगाएका छौं, त्यो भोली आइपुग्छ र सबैको परीक्षण गछौं,’मेयर खनालले भने ।

barahxetra