धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सबै लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा रहेको पनि उनले बताए । संक्रमित सबै पुरुष हुन् । उनीहरुको उमेर १७ बर्षदेखि ५५ बर्ष उमेर समुहका छन् ।
यस्तै, अर्का एक संक्रमित रुपन्देहीका २७ बर्षीय रहेका छन् । कुल संक्रमितमध्ये ३८३ जना पुरुष र ७० जना महिला रहेका छन् । संक्रमित जिल्ला ३८ पुगेको छ । कुल मध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना संक्रमित रहेको डा.देवकोटाले बताए । यस्तै, प्रदेश ५ मा संक्रमित १९७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा ५ जना रहेको पनि उनले जानकारी दिए । यस्तै, गुल्मीका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको पनि उनले जानकारी दिए ।