धरान: शनिबार राती धरान १३ बाट ब्राउन सुगरसहित पक्राउ परेका तीन मध्ये एक जना पुर्वसिंगापुर लाहुरे भएको खुलेको छ ।
सिंगापुर पुलिसबाट अवकाश पाएका ४३ बर्षीय घनश्याम राईको खास घर धरान १५ हो । उनी अवकाश पाएको धेरै समय पनि भएको छैन । तर, चोककै धेरैलाई उनी धरानमा नै छन् भन्ने पनि थाह थिएन । तर, जब प्रहरीले उनलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको खबर हिजो सार्वजनिक भयो, तब स्थानीय पनि चकित परे । ‘उ धरानमा छ भन्ने पनि हामीलाई थाह थिएन, हिजो समाचारमा नाम, उमेर र ठेगाना ठ्याक्कै मिले पछि पो थाह भयो,’ उनलाई नजिकबाट चिन्ने एक युवा भन्छन् ।
घनश्याम धरानमा छ भन्ने उनका छरछिमेकलाई थाह नहुनुमा कारण छ । उनी धरान १३ मा डेरा गरेर बसेका थिए । उनीसँग एक युवती २५ बर्षीय समिया लिम्बु पनि बस्थिन् । प्रहरीले दुवैलाई पक्राउ गरेको छ । प्रहरीलाई उनीहरुले एकै कोठामा बस्दै आएको बताएका थिए । अर्का युवा मन्दिप मगर पनि उनीहरुसँगै समतिएका छन् ।
पुर्व लाहुरे राईलाई चिन्नेहरु सामान्यरुपमा लागुऔषध लिन्छन् भन्ने थाह भएको बताउँछन् । तर, अवकाश प्राप्त लाहुरे भएको र पैसाको खाँचो नहुने भएकोले पछिल्लो समय लागुऔषध कारोबारीको तार्गेटमा परेर उनी पनि विस्तारै कारोबारी बनेको उनलाई नजिकबाट चिन्नेहरु अनुमान गर्छन् । ‘पैसाको खाँचो पनि नहुने भएकोले डिलरहरु यस्तैको खोजीमा हुन्छन् । ऊ पनि हल्का लागुऔषध लिन्थ्यो । वरामद भएको सामान हेर्दा ऊ पनि कारोबार गर्न शुरु गरेछ कि भन्ने लाग्यो,’प्रतिक्रिया दिदै ती युवाले भने ।
इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले पक्राउ परेकाहरु सेवनकर्ता मात्र नभएर कारोबारी भएको बताए । उनीहरुलाई लागुऔषध बेचबिखनमै कारबाही प्रक्रिया अघि बढेको पनि डिएसपी न्यौपानेले प्रष्ट पारे । ‘पहिला पटकलाई हिजो म्याद थप भइसकेको छ । उनीहरु कारोबारी नै हो, बेचबिखनमै मुद्दा चल्छ,’डिएसपीले प्रष्ट पार्दै भने । प्रहरीका अनुसार मन्दिपको साथबाट १५० मिलिग्राम ब्राउन सुगर वरामद भएको थियो भने घनश्याम र समियाको कोठाबाट ३ ग्राम ब्राउन सुगर, १५० ट्याब्लेट नाइट्रोसन र ८३ हजार रुपैया पनि वरामद भएको थियो ।