धरान: नेपाल यातायात मजदुर संगठन धरान उपमहानगर कमिटिले लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ ।
संगठनले वुधवार धरान ७ न.वडा स्थित आप्mनै कार्यलयमा ८० जना मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो । संगठनले राहत स्वरुप १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेल प्रदान गरेको जनाएको छ । यातायात क्षेत्रका चालक, सहचालक, वुकिङ्गको रुपमा काम गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको हो ।
धरानमा कार्यक्षेत्र वनाएर काम गरेका हाल अष्ट्रेलिया बसोवास गर्ने पुर्व यातायात चालक खजुरमान सिलवाल (वोइलर गुरुजी)को संयोजनमा उनको श्रीमती आशा थापामगर, गेटवे नेपाली चर्जका चियरमेन शान्तिराम र उनको श्रीमति तुलसीमायाले राहतको लागि आर्थिक संकलन गरि संगठनलाई ७० हजार रुपैया पठाएको नेपाल यातायात मजदुर संगठन धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए । वोइलर गुरुजी नामले परिचित सिलवालले धरान काकडभिट्टा रुटमा २०५२ साल देखि २०७२ सालसम्म लामो समय धरानमा बसेर काम गरेका थिए ।
दैनिक रोजगारी गरेर गुजारा गरिरहेका करिव ११ सय मजदुर परिवारहरुलाई संगठनले राहत वितरण गरिसकेको संगठनले जानकारी दिएको छ । कार्यक्रममा मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, नेकपा धरान उपमहानगरपालिका कमिटि अध्यक्ष नारायण सुवेदी, नेकपा नगर कमिटि सचिवालय सदस्य पारस काङवाङ, सचिवालय सदस्य राजमणी निरौला, युवा नेता दिपक वनेपाली, मजदुर संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।