धरान: धरानमा आत्महत्याको घटनामा वृद्धि भएको छ । आज पनि दिउँसो धरान १८ स्थित बुद्धचोकमा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार १३ बर्षीय अल्का मुखियाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार करिब साढे ५ बजेतिर घटनाबारे जानकारी भएको थियो । मृतककी आमा वीपी प्रतिष्ठानमा हेल्परमा कार्यरत छिन् । डिप्रेसनले गर्दा आत्महत्या गरेको हुनसक्ने डिएसपी बस्नेतले बताए ।
वडा नं १८ का अध्यक्ष प्रविण राईका अनुसार मृतकका परिवार बुद्धचोकदेखि दुर्गाचोक जाने बाटोको बीचमा पर्ने एक घरमा भाडामा बस्थे । आमा डिउटी गएको बेला चिट्ठी लेखेर उनले आत्महत्या गरेको अध्यक्ष राईले बताए । ‘आमालाई सम्बोधन गरेर पत्र लेखेको रहेछ । जिन्दगीबाट हरेस खाएको भन्ने पत्रबाट खुल्यो,’अध्यक्ष राईले भने । मृतकलाई बोन म्यारोको पनि समस्या भएकोले डिप्रेसनमा परेको अनुमान गरिएके छ ।
पछिल्लो ५ दिनमा ४ जनाले आत्महत्या गरिसकेका छन् । असार १ गते धरान १३ मा एक व्यक्तिले कोठामा झुण्डिएर आत्महत्या गरेका थिए भने असार २ गते विजयपुरमा एक युवा पनि बाथरुममा झुण्डिएका थिए । यस्तै, असार ३ गते पनि धरान ११ मा एक महिलाले आत्महत्या गरेकी थिइन् ।