धरान : रुकुम पश्चिम चौरजहारी ८ सोतीमा भएको जघन्य हत्या घटनाको विरोधमा धरानका अधिकारकर्मी, दलित अग्रज, राजनीतिकर्मी तथा विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् ।

संयुक्त दलित संघर्ष समितिको आयोजनामा सहभागीहरुले सिटी बजाएर विरोध तथा खबरदारी कार्यक्रम गरेका हुन् । कार्यत्रममा धरानका दलित तथा गैरदलित समुदायहरुको पनि बाक्लो उपस्थिति थियो । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष पुगे पनि अन्तजातिय प्रेमलाई परिवारले स्वीकार गर्न नसक्दा रुकुममा ६ जनाको हत्याको घटना भएको थियो । यो घटनालाई अर्कै मोड दिन खोजेको भन्दै देशभरिका दलित समुदाय तथा सरोकारहरु आन्दोलित छन् ।

dalit-program

भानुचोकको लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा नेकपा सुनसरी जिल्लाका नेता दिल बहादुर रामदामले सम्बोधन गर्दै विगतमा भएको आन्दोलनका लक्ष्य र उद्देश्यहरु सम्झन आग्रह गरे । जनयुद्ध, ६२र६३ को जनआन्दोलन सबैको मुक्तिको लागि र समतामूलक समाज निर्माणका लागि भएको उनले स्मरण गरे । 'तर आज २१ औं शताब्दीमा पनि जातिय छुवाछूत तथा भेदभावकै कारण दलितहरु मारिनु राज्यका निम्ति लज्जास्पद घटना भएको छ,'उनले भने,'दलित अधिकारको सुनिश्चित गर्न दलित समुदाय मात्र लडेर हुन्न, सबै समुदायले साथ दिनु पर्छ ।'

कार्यक्रममा बोल्दै दलित संघका केन्द्रीय सदस्य गोविन्द दर्नालले दलितका निम्ति राज्य कहिल्यै गम्भीर नरहेको बताए । सम्पुर्ण दलितहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको पनि उनले जोडदिएका थिए । संघर्ष समिति संयोजक गंगा कालिकोटले रुकुम घटनालाई तोडमोड गरि दोषीलाई जोगाउने खेल भएको र पीडितले न्याय पाउने कुरामा शंका भएकोले खबरदारी गर्नुपरेको बताए।