सप्तरी: आज बिहान बर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ ।

चट्याङ्ले सप्तरीको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । प्रहरीका अनुसार बिहानै सप्तकोशीमा नुहाउन गएका महदेवा वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ ।

यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको छ । यसैगरि, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनाका खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ ।  यस्तै, बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।