धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि होटलबाट अस्पताल लगिएको छ ।

आज बिहान श्रीमानसँगै उनी बसिरहेको धरान १८, वीपी प्रतिष्ठान अघिको होटलबाट अस्पताल लगिएको हो । उदयपुर घर भएकी २३ बर्षीय ती महिलाको अप्रेशन गर्नुअघि पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई विराटनगरको अस्पतालले रिफर गरेपछि धरान आएका थिए । साउन २१ गतेदेखि दुवै उक्त होटलमा बसिरहेका थिए ।

होटलसहित ३ घर सिल

वडा नं १८ का अध्यक्ष प्रविण राईले उनीहरु होटलबाट सिधै वीपी प्रतिष्ठान जाने र कोठा आउने गरेको पाइएको छ । ती दम्पत्ति बसेको होटलसहित ३ घरलाई सिल गरिएको अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार होटलसँगै होटलको उत्तर र दक्षिणपटि रहेको घरलाई पनि सिल गरिएको छ । ती घरमा बाहिर भित्र आवतजावत गर्न प्रतिबन्ध गरिएको उनले बताए । 'होटल र होटलसँग टासिएको २ वटा घरलाई सिल गरिएको छ, आवतजावत गर्न रोक लगाइएको छ, 'अध्यक्ष राईले भने, 'होटल वरिपरी सेनिटाइज पनि गछौं ।' होटल सञ्चालकको परिवारका ६ जना र तल्लो, माथ्लो दुवै घरका एक एक जना गरि ८ जनाको स्वाब आज संकलन गरिने पनि अध्यक्ष राईले बताए । उनीहरुको रिपोर्ट नआएसम्म ३ घर सिल हुने पनि उनले जानकारी दिए ।