धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमतिको उपचार गराउन आएका उदयपुरका एक व्यक्तिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको विरामी श्रीमतिलाई हिजो (बिहिबार) कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु धरान १८ स्थित वीपी प्रतिष्ठान बाहिरको एक होटलमा साउन २१ गतेदेखि बसिरहेका थिए । श्रीमतिको अप्रेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै श्रीमतिलाई अस्पताल लगिएको थियो भने श्रीमान्लाई धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा लगेर राखिएको थियो ।
संक्रमित श्रीमतिसँगै रहने गरेको कारण वीपी प्रतिष्ठानले हिजो नै श्रीमान्को पनि स्वाब संकलन गरेको थियो । उनको पनि आज रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘हिजो श्रीमतिको रिपोर्ट पोजेटिभ आएको थियो, उहाँलाई एन्फामा राखियो । आज रिपोर्ट पोजेटिभ आएकोले वीपीमा नै पठाउदैछौं,’मेहताले भने ।
होटलमा बसेका ग्राहकको कोरोना पोजेटिभ रिपोर्ट आएकोले होटलसँगै तल्लो र माथिल्लो घरलाई पनि सिल गरिएको छ । होटल सञ्चालकको परिवारसहित छिमेकी घरका एक एक जनाको पनि स्वाब संकलन गरिएको छ । उनीहरुको भने रिपोर्ट आउन बाँकी रहेको मेहताले जानकारी दिए ।