धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ३२ बर्षकी दिदीलाई संक्रमण पुष्टि भएको वडा नं १८ का अध्यक्ष प्रविण राईले जानकारी दिए । उनका अनुसार यो होटल दिदी-बहिनी मिलेर सञ्चालन गरिरहेका छन् । होटल सञ्चालिका(बहिनी)को श्रीमानको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको अध्यक्ष राईले जानकारी दिए । यस्तै, उक्त होटलको माथिल्लो र तल्लो घरका व्यक्तिहरुको पनि पिसिआर नेगेटिभ आएको छ ।

वीपी प्रतिष्ठानमा उपचार गर्न आएका उदयपुरका एक दम्पत्ति साउन २१ गतेदेखि उक्त होटल बसेका थिए । अप्रेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा विरामी श्रीमतिको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि होटल सिल गरिएको थियो भने संक्रमितको श्रीमान्, होटल सञ्चालक परिवारसँगै होटलको माथिल्लो र तल्लो घरका एक एक जनाको स्वाब लिइएको थियो ।

संक्रमित विरामी महिलाको श्रीमानलाई पनि संक्रमण पुष्टि भएर वीपीको कोभिड अस्पतालमा लगिएको छ । आज थप होटल सञ्चालिकाद्धय र एक बच्चसहित रिपोर्ट पोजेटिभ आएको हो । वडाअध्यक्ष राईले रिपोर्ट पाजेटिभ आएकोबारेमा मेयर, प्रहरी, धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख सबैलाई जानकारी गराएको बताए । ‘सबैलाई खबर गरेको छुँ, के गर्ने भनेर छलफल गछौं,’अध्यक्ष राईले भने ।