धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना ल्याबका कर्मचारी छन् । संक्रमण पुष्टि भएका एमआइसियुका नर्सको कन्ट्याक ट्रेसिङबाट स्वाब परीक्षण गराउदा पेडियाट्रिकका २ जना नर्समा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । यस्तै, सर्जरी युनिट १ का एक जना हेल्परमा पनि संक्रमण पुष्टि भएको छ भने ल्याबका एक कर्मचारीको पिसिआर पनि पोजेटिभ आएको छ ।
ल्याबका कर्मचारी पारिवारीक कामले राजविराज घर गएको र फर्केपछि स्वाब परीक्षण गराउदा पिसिआर पोजेटिभ आएको हो । उनीसँगै छोरा र छोरीको रिपोर्ट पनि पोजेटिभ आएको छ । यस्तै, प्रतिष्ठानको इ एरियामा आइसोलेट गरेर राखिएका एक विरामीको रिपोर्ट पनि पोजेटिभ आएको छ । गाइनो वार्डमा पनि आइसोलेट गरेर राखिएको एक विरामीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुलाई कोभिड अस्पताल स्थानान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।
यसैगरि, कोरोना संक्रमण पुष्टि भएका विरामीको कन्ट्याक ट्रेसिङको पछि स्वाब लिइएका ४ जना कुरुवाको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । यसअघि गाइनो वार्डमा २ जना महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुका ७ जना कुरुवाको स्वाब लिएर परीक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको एन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो । एन्फामा नै रहेका कुरुवाहरु सबै धरान बाहिर २ नम्बर प्रदेशको भएकोले सम्बन्धित पालिकामा आइसोलेसनमा राख्न पठाउने तयारी गरिएको छ ।