धरान: सुनसरीको सिमा सुरक्षाको लागि श्रीपुर बोर्डर आउट पोष्ट(बिओपी)मा खटिएका ४ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच दिनअघि स्वाब संकलन गरिएका उनीहरुको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार उनीहरुको स्वाब साउन ३२ गते संलकन गरिएको थियो । हाल चारै जना सशस्त्रकै आइसोलेसनमा रहेको र सुनसरीको बराहक्षेत्रको चतरास्थित आइसोलेसन केन्द्रमा लगिने पनि एसपी ढकालले जानकारी दिए ।
संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरुको क्लोज कन्ट्याकमा रहेकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको एसपी ढकालले बताए । ‘क्लोज कन्ट्याक भएकाहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ, पोजेटिभ भएकाहरु गएको ठाउँ पनि पहिचान हुदैछ,’उनले भने । सशस्त्रको बिओपी राखिएको स्थान कोशी गाउँपालिकाको वडा नं ४ मा पर्छ ।
दुहबी र रामधुनीमा पनि संक्रमित भेटियो
आज सुनसरीको दुहबी र रामधुनीमा पनि एक एक जना कोरोना संक्रमण भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुहबी नगरपालिकामा कन्ट्याक ट्रेसिङ भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो भने रामधुनी नगरपालिकामा क्वारेन्टिनमा बसेका एक व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यसबाहेक सुनसरीकै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी, विरामी र कुरुवाहरु गरि १२ जनामा संक्रमण पुष्टि भएको छ ।