धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । उनीबाहेक प्रतिष्ठानकै गाइनो वार्डमा यसअघि कोरोना पोजेटिभ पुष्टि भएका २ जना कुरुवामा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनीहरु कन्ट्याक ट्रेसिङ गरेपछि एन्फा क्वारेन्टिनमा बसिरहेका छन् ।
यस्तै, एक जना शंका लागेर कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ की नर्स होम आइसोलेसनमा रहेको र उनको इच्छा अनुसार नै वीपी प्रतिष्ठान लगिनेछ । ‘उहाँको घरमा अरु पनि १२ जना परिवारका सदस्यहरु रहेछ, त्यसैले अस्पतालमा नै जाने भन्नुभएकोले उता लैजाने तयारी हुदैछ,’उनले भने ।