धरान: कोरोना संक्रमण फैलिदै गएको र २ जनाको मृत्युसमेत भएपछि धरानको वडा नं १७ लाई सिल गरिएको छ ।
थप कोरोना संक्रमण फैलिन नदिन वडालाई एक साताको लागि सिल गरिएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । ‘अहिले घरबाहिर ननिस्कन भनेर माइकिङ गरिरहेका छौं, जनपद र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ,’वडाअध्यक्ष भट्टराईले भने । निर्णय कार्यान्वयन गराउनको लागि सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको उनको भनाई छ।
मानिसहरुको आवतजावत रोक्न र संक्रमणलाई थप समुदायमा फैलन नदिन वडालाई नै सिल गरिएको अध्यक्ष भट्टराईले बताए । एक सातासम्म कन्ट्याक ट्रेसिङ गर्ने र पहिलो, दोस्रो घेरालाई कतै पनि हिडडुल गर्न नदिने उनले बताए । ‘संक्रमितको सम्पर्कमा आएका पहिलो र दोस्रो घेरालाई कर्त मुभ गर्न नदिए पनि संक्रमण फैलिदैन,’उनले भने ।