धरान: नेपाली सेनाको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनीहरुको शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो । स्वाब लिइएको १४ जना मध्ये २ जनाको मात्र रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य महाशाखाका अनुसार कोरोना पोजेटिभ आएका सैनिकहरुमा ३४ बर्षका ५ जना छन् भने ३० बर्षका २ जना छन् । यस्तै, अन्य ३५ बर्ष, ३६ बर्ष, २६ बर्ष, २३ बर्ष र ३१ बर्षका सैनिकहरु छन् । नेपाली सेनाको मोरङको याङ्शिलास्थित आइसोलेसनमा लैजाने तयारी भएको छ ।

यसैगरि, धरान १२ चतरालाइनमा थप एक जना ७६ बर्षकी वृद्धालाई पनि संक्रमण पुष्टि भएको छ । उनको छोरा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । उनलाई पनि संक्रमण पुष्टि भइसकेको छ । योसँगै आज धरानमा एकै दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहान पनि ४ जनामा संक्रमण पुष्टि भएको थियो भने धरान १७ का एकै परिवारका २ जनाको मृत्यु भएको थियो ।