पछिल्लो समय हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु बढदै गइरहेका छन्। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ।
भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो । बलात्कारीको यौन अंग छेदन गर्नुपर्ने, मुत्युदण्ड दिनुपर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन् । तर बलात्कारका घटनामा यस्ता केहि मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैन । मुत्युदण्ड वा कडा कानुन बनाएर मात्र समस्याको समधान नहुन सक्छ। साथै शिक्षा, चेतनाको स्तर बढाउन समेत जरुरी हुन्छ।
बलात्कारका घटनाहरु किन हुन्छन् ?
यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन्। हेर्नुहोस यस्ता छन् कारण:
असामाजिक ब्यक्तित्व: जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्वसँग सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दुःख दिने, सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
यौनको लत: यौनको लत लागेका ब्यक्तिहरु यौनप्रति अति नै आशक्त हुन्छन् । कति गर्दा पनि उनीहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन् ।
अप्राकृतिक यौन व्यवहार: जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ, यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलात्कार गर्ने पनि सम्भाबना हुन्छ ।
नैतिक पतन: नैतिकरुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन् । यस्ता नैतिकरुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन् ।
यौन कुण्ठा: अबिबाहित, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलत्कार गर्न सक्छ ।
लागूप्रदार्थको सेवन: यसको सेवन गर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलत्कार गर्न पुग्छ ।
पोनोग्राफी र साईबर सेक्सको लत: पोनोग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनिसगँ शारीरिक सम्बन्ध आदिजस्ता शिर्षकका अश्लिल भिडियो धेरै भेटिन्छन् । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।
मानसिक रोगः मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ । उसको व्यवहार र बिचार पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन, र बलात्कार पनि गर्न सक्छ ।
शरीरिक कारण: शरीरमा सेक्स हर्मन बढदा यौन चाहना बढन गई, आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलत्कारका घटना हुन पुग्छ ।
अति बिश्बास गर्नु: घर परिवारका सदस्यबीच चाहिने भन्दा बढि घनिष्टता, अति विश्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।
मनोबैज्ञानिक असर: सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।
यौन अनुशासन नहुनु: सानैबाट यौन अनुशासन नभएको, पतित, बिखण्डित, अनुशासनहिन, चरित्रहिन घर परिवार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।
यी र यस्ता अन्य धेरै यौन समस्या (विचलन), मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ । यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्वस्थ्य ब्यक्ति मान्न सकिँदैन । किनकि मानसिकरुपमा स्बस्थ ब्यक्तिले समाजले स्वीकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणामको बारेमा सोच्छ । के ठिक, के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्नसक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।
लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् ।