धरान: रातभरि धामी राखेको धरान १६ स्थित एक घरमा महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

धरान १६ साँगुरी मार्ग, सुकुम्बासी लाइनकी ३८ बर्षीया सुकमाया तामाङले आज बिहान झुण्डिएर आत्महत्या गरेको वडाअध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार सुकमायाको घरमा राती धामी राखिएको थियो । मृतक आफै पनि काम्ने गरेपछि देवी उत्रिन लागेको भनेर धामी राखिएको जानकारी पाएको अध्यक्ष गिरीले बताए । ‘सुकमाया काम्ने गरेको रहेछ, त्यसैले देवी उत्रिन लाग्यो भनेर राती घरमा धामी राखेर देवीथान राखिएको रहेछ,’अध्यक्ष गिरीले भने,‘आज बिहान ७ देखि ८ बजेको बीचमा झुण्डिएर आत्महत्या गरिछन् ।’

मृतकको श्रीमान् वैदेशिक रोजगारीमा विदेशमा छन् भने उनको २ छोराहरु छन् । घरमा आमा पनि सँगै बसेका थिए । बिहान आमा बजार गएको बेलामा सुकमायाले सलको पाशो लगाएर झुण्डिएको पाइएको अध्यक्ष गिरीले जानकारी दिए । ‘घरको काठको बटममा सलले झुण्डिएको रहेछ,’उनले भने ।