धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।

झापाका ८० बर्षीय वृद्धको आज दिउँसो ४ बजेर २५ मिनेटा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई हिजो प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन कार्य भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा हिजो राती साढे १० बजे पनि झापाकी कोरोना संक्रमित २५ बर्षीया युवतीको मृत्यु भएको थियो । यस्तै हिजो राती नै साढे १० बजे भेडेटारका एक ७२ बर्षीय वृद्धको पनि प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको थियो भने आज बिहान सवा ९ बजे बराहक्षेत्र ३ की ४४ बर्षीया महिलाको पनि निधन भएको थियो ।