धरान: घरमै चटपटे बिक्री गरेर परिवारको गुजारा गर्दै आइहेकी धरान १७ को सुकुम्बासी वस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माण कार्य अघि बढेको छ ।
शुक्रबारबाट एक जना मिस्त्री खटाएर घर निर्माण कार्य अघि बढेको हो । शुक्रबार दिउँसो धरानका पत्रकारहरुले घर निर्माणमा श्रद्धदान पनि गरेका थिए । वडाअध्यक्ष सुर्यप्रसाद भट्टराई(मनोज), पत्रकार महासंघ सुनसरीका सदस्य धिरेन लिम्बु, महासंघका प्रदेश पार्षद रणध्वज लोहार, नेपाल फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिशिर राईलगायतले श्रमदान गरेका थिए । जानुका बिक, उनका छोरा र छोरी पनि पनि घर निर्माणमा खटिएका छन् । निम्न आर्थिक अवस्थाकी विकको परिवार जीर्ण अवस्थाको घरमा बस्दै आएका छन् । उनको श्रीमानको करिब ९ बर्षअघि क्यान्सरको कारण निधन भएको थियो । अहिले एक छोरा र एक छोरीको साथमा उनी बस्दै आएकी छिन् । छोरा र छोरी पनि बेरोजगार छन् ।
करिब ३ दशकअघि टिनले बारेको र माटोले लिपेर बनेको घर जीर्ण बनेपछि वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) र धरानका केही पत्रकारहरुको पहलमा नयाँ घर निर्माण अभियान थालिएको हो । अध्यक्ष भट्टराईको आग्रहमा पत्रकारहरुको टोलीले पोहोर साल तिहारमा देउसी खेलेर ८२ हजार रुपैया बैंकमा जम्मा गरिदिएका थिए । यसपाली कोभिडको कारण देउसी खेल्न नपाए पनि सामाजिक कार्य गर्ने भनेर राखेको १८ हजार पनि केही दिनअघि घर निर्माणमा नै खर्च गर्ने गरि पत्रकारहरुले बिकलाई हस्तान्तरण गरेका थिए । यो घर निर्माण अभियानमा विभिन्न व्यक्तिहरुले पनि सहयोग गरिरहेका छन् ।
धरानका पत्रकारहरुको अगुवाईमा यसअघि पनि धरान ११ मा अशक्त ज्ञानबहादुर माझीको घर निर्माण भएको थियो भने मजदुर नेताहरुसँगको सहकार्यमा मिलेर दुर्घटनाको कारण थला परेका धरान १५ का पुष्य प्याकुरेलको घर पनि निर्माण भएको थियो । यही कार्यबाट प्रभावित भएका वडा नं १७ का अध्यक्ष भट्टराईले जानुका बिकको घर निर्माणमा पनि सहयोगको प्रस्ताव गरेपछि पत्रकारहरुको टोलीले अभियान थालेका हुन् । ‘आर्थिक, भौतिक, आवश्यक सामग्री जे जस्तो सहयोग गर्न सकिन्छ, गछौं, अरुलाई पनि आग्रह गछौं,’अध्यक्ष भट्टराईले भने,‘हामी नै श्रमदान गरेर घर बनाउने हो ।’ अग्रज पत्रकार जनकऋर्षि राईले पनि विगतमा पत्रकार, युवा, सामाजिक अभियन्ताहरुले श्रमदान गरेको स्मरण गर्दै जानुका बिकको घर पनि यसरी नै पुरा गरिने बताए । साथै उनले सहयोगको लागि पनि अपिल गरे ।