धरान: केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थी नेता पेशलराज कार्कीले आफ्नो २२ औं जन्मदिन धरान १७ विजुवा मार्गकी जानुका विकको घर निर्माण अभियानलाई सहयोग गरेर मनाएका छन् ।
उनले घर निर्माणका लागि पाँच वोरा सिमेन्ट सहयोग गरेका छन् । उनले घर निर्माणस्थलमा पुगेर पाँच वोरा सिमेन्ट वरावरको रकम ३ हजार ७ सय रुपैया हस्तान्तरण गरेका थिए । विगतमा साथीभाइहरुसँग रमाइलो गरेर जन्मदिन मनाउने गरेका कार्कीले घर निर्माण अभियानबारे फेसबुकमा समाचार देखेपछि जन्मदिन मनाउने पैसा सामाजिक कार्यमा खर्च गरेको कार्कीले वताए । हस्तान्तरण कार्यक्रममा नेकपा धरान उपमहानगरपालिका अध्यक्ष नारायण सुवेदी, नेकपा कार्यालय सदस्य एवं विद्यार्थी इन्चार्ज पारस काङवाङ, अग्रज पत्रकार जनकऋषि राई, अनेरास्वव्यु जिल्ला सचिवालय सदस्य मणि राई, हात्तिसार कलेजका स्ववियु सभापति सौरभ संजेल लगायतको उपस्थिति रहेको थियो ।
धरानका पत्रकारहरुले विकको घर निर्माणको लागि पोहोर साल देउसी खेलेर उठेको रकमवाट धरान १७ न. वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा जानुका विकको घर निर्माण कार्य सुरु भएको छ । घरमा नै चटपटे वेचेर गुजारा गर्दै आइरहेकी एकल महिला विकको परिवार टिनले वारेको र माटोले लिपेर बनेको तीन दशक पुरानो तथा जीर्ण घरमा वस्दै आइरहेको छ । एक छोरा र एक छोरीका साथ रहेकी उनको श्रीमानको नौ वर्ष अघि क्यान्सर रोगले मृत्यु भएको थियो । तस्विरः विकास चाम्लिङ राई