धरान: धरान १७ विजुवा मार्गमा जानुका विकको घर निर्माण अभियान चलिरहेको छ । उक्त अभियानबारे सामाजिक सञ्जालबाट जानकारी पाएपछि धरान ५ का दिदी भाईको जन्मदिनको अवसरमा बुधबार आर्थिक सहयोग जुटेको छ ।

धरान ५ का १७ बर्षीय निलम राई र उनका भाई १६ बर्षीय निसान राईको जन्मदिनको अवसरमा घर निर्माण अभियानको लागि सहयोग गरेका हुन् । आमा निर्मला र छोरी निलमले बुधबार ६ हजार रुपैया घर निर्माण अभियन्ता एवं पत्रकार जनकऋषि राईलाई हस्तान्तरण गरेका थिए । आमा निर्मलाका अनुसार छोरीको जन्मदिन पुष २४ गते हो भने छोराको पुष २० गते हो । जन्मदिन आउन केही दिन बाँकी नै भएपनि घर निर्माण कार्य सुचारु रहेकोले सहयोग गरिएको उनले बताइन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा राम्रो कामको लागि सहयोग गर्न पाउदा खुशी लागेको उनले बताइन् ।

निर्मलाका श्रीमान् कल्याण राई(यलुङ हाङ) वैदेशिक रोजगारीको क्रममा विदेशमा छन् । उनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत समस्यामा परेका मानिसलाई सहयोग गर्ने सोच बनाएका आफ्ना छोराछोरीप्रति गर्वरहेको प्रतिक्रिया दिएका छन् । 'हरेक साल जन्मदिन लाई सम्झेर हर्ष उल्लास मय रुपले मनाइनु साथीभाइ बसेर भोज भतियार दिया दिई गर्दै मिठो मसिनो खानु भन्दा थोर बहुत भए पनि समस्यामा परेका पीडित मान्छेहरुलाई त्यो बापतको खर्च सहयोग गरियो भने मानवता त्यो भन्दा अर्को के नै होला र ?'उनले भनेका छन् ।

घर निर्माण अभियन्ता राईले पनि निलम र निसानलाई शुभकामना व्यक्त गर्दै सहयोगको लागि धन्यवाद दिएका थिए । आफ्नै जीर्ण घरमा चटपटे बिक्री गरेर जिविको चलाउदै आइरहेकी जानुका विकको घर निर्माणको लागि वडा अध्यक्ष मनोज भट्टराई, अग्रज पत्रकार जनकऋषि राईको पहल भइरहेको छ । धरानका केही पत्रकारहरुले पोहोर देउसी खेलेको १ लाख रुपैया सहयोग गरेर घर निर्माण कार्य अघि बढेको हो ।