धरान: आफ्नै श्रीमतिको हत्या अभियोगमा पक्राउ परेका धरान ८ का तिलबहादुर माझीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि सार्वजनिक गरेको हो । धरान ८ दुर्गापथका ३९ बर्षीय माझीलाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । माझीले हिजो बिहिबार दिउँसो करिब ५ बजे आफ्नै घरमा ३५ बर्षीय श्रीमति सम्झना भन्ने कमला माझीको खुकुरी प्रहार गरि हत्या गरेका थिए । घरायसी विवादमा माझीले श्रीमतिलाई गर्धनमा धारिलो खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना पछि खबर पाएलगत्तै प्रहरीले बिहिबार नै माझीलाई पक्राउ गरेको थियो । परिवार तथा आफन्तजनका अनुसार माझी केही दिनदेखि अस्वाभाविक गतिविधिहरु देखाइरहेका थिए । घरि घरको छतबाट हाम्फाल्ने, जथाभावी दौडने, जथाभावी बोल्ने गरेका माझीमा मानसिक रोगका लक्षण देखिए पनि परिवारले समयमा नै अस्पताल लगेर उपचार नगर्दा जघन्य घटना हुनपुगेको छरछिमेकीहरुको भनाई छ । अस्पताल लैजानुको साटो परिवारले पुख्यौली थलोतिर लगेर धामी झाक्रीलाई झारफुक गराएर बिहिबार बिहान मात्र घर ल्याएका थिए ।