धरान: लकडाउनको समयमा धरानसँग सिमाना जोडिएको दक्षिणको वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको पाइएको छ । 

धरानसँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिकाको अमाह सामुदायिक वन समुहका पदाधिकारीहरुले आज काठ तस्करीमा संलग्न टेम्पो र चालकलाई पक्राउ गर्न सफल भएपछि तस्करीबारे खुलेको हो । काठ ओसार्न प्रयोग हुने टेम्पो र चालक पक्राउ परेपनि मुख्य तस्कर र सनको समुह भने भाग्न सफल भएको अमाह वन समुहका अध्यक्ष भोजराज रिल्ली घलेले जानकारी दिए । उनका अनुसार तस्करको समुहले टेम्पो चालकलाई एक पटक ओसारे वापत २ हजारदेखि २५ सय रुपैयासम्म पैसा दिने र रक्सी पनि खुवाउने गरेको खुलेको छ । 

निगुरो टिप्न गएका उपभोक्ताहरुले राष्ट्रिय वन क्षेत्रमा काठ टुना परेको देखेपछि समुहका पदाधिकारीहरुलाई खबर गरेका थिए । त्यसपछि, विगत ३ दिनदेखि समुहले तस्करहरुलाई रेकी गरिरहेको थियो । सोही क्रममा आज बिहान ३ बजेदेखि नै अध्यक्ष घलेसहित २ जनाको टोलीले तस्करीलाई पछ्याएका थिए । त्यसक्रममा बराहक्षेत्र ८ पुलाहास्थित एक काठ मिलमा लगेर चिरान भइरहेको पत्ता लागेको थियो ।

तस्करको समुहले उक्त मिलका सञ्चालकलाई धाकधम्की दिएर काठ चिराउन लगाउने गरेको खुलेको छ । काठ चिरान भइरहेको पाएपछि वन समुहका पदाधिकारीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइपुगेर भित्र प्रवेश गर्दा तस्करका मुख्य नाइके सुजन मगर र उनको गिरोह भाग्न सफल भएको अध्यक्ष घलेले जानकारी दिए । 

मुख्य तस्कर मगर को १० प ६४५४ नम्बरको मोटरसाइकलमा भागेका थिए । उनलाई कालाबञ्जार प्रहरीले रोकेर पक्राउ गर्न खोजे पनि सफल नभएको अध्यक्ष घलेले बताए । मगरले मोटरसाइकल छोडेर भागेपछि हाल मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेण्को छ । यो गिरोहले लामो समयदेखि काठ तस्करी गर्दै आइरहे पनि प्रमाण नपुग्दा पक्राउ गर्न नसकेको अध्यक्ष घलेले बताए । पक्राउ परेको टेम्पो चालकले अर्को काठ मिलमा पनि तस्करीको काठ पुर्याएको वयान दिए पनि फेला परेको छैन । सुजन र उनको समुह पेशेवर काठ तस्कर हुन् भने लकडाउनमा सबै उपभोक्ताहरु घरमा थुनिएको बेला झन् सक्रिय भएको छ ।

विगतमा तस्करको समुहले जंगल क्षेत्रबाट ट्याक्टरमा तस्करी गर्ने गर्थे । पछिल्लो समयमा बोलेरो, टोयटा गाडी र टेम्पो प्रयोग गरेर राती राती तस्करी गर्ने गरेका छन् । उनीहरुले वन समुह र वन कार्यालयको गस्तीलाई झुक्याउन विभिन्न रुट प्रयोग गर्ने गरेको खुलेको छ । राष्ट्रिय वन क्षेत्रमा तस्करहरुले ६ वटा जति सखुवाको रुख काटेको देखिएको अध्यक्ष घलेले जानकारी दिए । पक्राउ परेको टेम्पो, चालक र काठ वन कार्यालयले नियन्त्रणमा राखेको छ ।