धरान: विपन्न परिवारको लागि राहत वितरण गर्न तयार गरेको कुपन धरानको ५ नम्बर वडा कार्यालयबाट चोरी भएको छ ।
कार्यालयमा रहेको कुपन चोरी भएपछि विपन्न परिवारलाई वितरण गरिसकेको कुपनहरु रद्द गरिएको वडाअध्यक्ष सन्तोष लिम्बुले जानकारी दिए । उनका अनुसार हिजो आइतबार विपन्न परिवारलाई १६ सय कुपन बाँडिएको थियो । आज बिहान करिब ९० वटा कुपन हराएको पाइए पछि वितरण गरिसकेको सबै कुपन रद्द गरिएको वडाअध्यक्ष लिम्बुले बताए । ‘हिजो कुपन वितरण भएको थियो । बाँकी रहेको कुपन आज रुजु गर्दा ९० वटा जति पुगेन,’अध्यक्ष लिम्बुले भने,‘त्यो कुपन लिएर आउलान् भनेर पनि सबै रद्द गर्नुपर्यो ।’
अध्यक्ष लिम्बुका अनुसार कुपन चोरी भएपछि वितरण गरेको कुपन रद्द गरेर पुनः नयाँ कुपन तयार गरिएको छ । नयाँ कुपन पनि विपन्न परिवारको लागि वितरण भइसकेको उनले बताए । राहत वितरण व्यवस्थित गर्न कुपन विरतण गरिएको वडा कार्यालयको भनाई छ । अध्यक्ष लिम्बुका अनुसार १८ सय परिवारलाई राहत वितरण गर्ने तयारी छ । वडाले बुधबार र बिहिबार विपन्न परिवारलाई तेस्रो चरणको राहत विरतणको तयारी गरिएको अध्यक्ष लिम्बुले बताए । वडा कार्यालयका अनुसार विपन्न परिवारको लागि चामल १९ हजार किलो छ भने नुन १९८९ किलो छ । यस्तै, तेल १९८९ लिटर र दाल पनि १९८९ किलो वडा कार्यालयमा तयार गरेर राखिएको छ ।