धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनबाट आज ५ जना डिस्चार्ज भएका छन् ।
स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएकोमध्ये ५ जनालाई डिस्चार्ज गरिएको क्वारेन्टाइन व्यवस्थापन समितिले जनाएको छ । पाँच जना डिस्चार्ज भएपछि हाल १९ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । ‘आज ५ जना डिस्चार्ज भएर गइसक्नुभएको छ, अहिले तत्काल १९ जना हुनुहुन्छ,’क्वारेन्टाइनकी स्वास्थ्यकर्मी डुका घिसिङले भनिन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आज थप १० जना व्यक्तिहरु क्वारेन्टाइनमा आउदैछन् । योसहित २९ जना संख्या पुग्नेछ । पिसिआर परीक्षण गर्न बाँकी रहेकाहरुको आज थप स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने मेहताले जानकारी दिए । ‘आज १० जना व्यक्तिहरु आउदै हुनुहुन्छ, हामी आज पनि थप स्वाब संकलन गर्दैछौं,’उनले भने,‘क्वारेन्टाइनमा बसेका र खाना पुर्याउन जाने व्यक्तिहरुको पनि स्वाब लिन्छौं ।’
धरान उपमहानगरपालिकाले भारतबाट आएका नगरबासीहरुलाई सिधै घर तथा समाजमा पुग्न नदिई सुरक्षितरुपमा राख्न एन्फामा क्वारेन्टाइनमा निर्माण गरेको हो । यहाँ उनीहरुलाई खाने, बस्ने व्यवस्था गरिएको छ । पिसिआर जाँच गरेपछि ७ दिन पछि रिपोर्टको आधारमा उनीहरुलाई घर पठाइने गरिएको छ ।