विराटनगर: प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या १६ सय नाघेको छ ।
आज प्रदेश १ मा ४८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या १६ सय ११ पुगेको छ । आज थपिएका संक्रमितमध्ये मोरंगका २४ जना छन् भने सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष र ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीमा धरानका ५ पुरुष र ४ महिला संक्रमित छन् । ती मध्ये २ जना इटहरीका हुन् भने १ जना धरान बाहिरका हुन् । यस्तै, दुहबीका ३ जना र कोशी गाउँपालिकाका २ जना पुरुष पनि संक्रमण पुष्टि भएको छ ।
झापाको मेचीनगरका ३ जना पुरुष र ३ महिला पनि पोजेटिभ देखिएको छ । भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
९ जनाको मृत्यु
प्रदेश १ मा उपचारको क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । ती मध्ये ६ जना मात्र प्रदेश १ का हुन् । अन्य ३ जना २ नम्बर प्रदेशका हुन् । आज बिहान मात्र मोरंगको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।